बैतडी: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा डेङ्गु र स्क्रब टाइफसको उच्च जोखिम रहेको छ । स्वास्थ्य कार्यालय बैतडीको गएको तीनवर्षको तथ्यांक हेर्दा जिल्लामा करिब नौ सय जनामा संक्रमण देखिएको छ ।
आर्थिक वर्ष २०७९/८० देखि हालसम्म यहाँ आठसय ६१ जनामा डेङ्गु र स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिनुभयो ।
तथ्यांकअनुसार चालु आवको हालसम्म डेङ्गु नौ र स्क्रब टाइफस ३७ जनामा देखिएको छ । यस्तै गत आव २०८१/८२ मा डेङ्गु एकसय ५६ र स्क्रब टाइफस एकसय ३६, २०८०/८१ मा डेङ्गु ८१ र स्क्रब टाइफस दुई सय ३१, आव २०७९/८० मा डेङ्गु ३२ र स्क्रब टाइफस एक सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।
यो तथ्यांक हेर्दा यहाँ डेङ्गु र स्क्रब टाइफसको उच्च जोखिम रहेको देखिन्छ ।
लामखुट्टेको टोकाईबाट हुने डेङ्गु केही वर्ष पहिलासम्म तराईमा मात्रै देखिने गरेको थियो । तर पछिल्लो समय पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“वर्षा सुरु भएसंगै तराईमा मात्रै नभएर पहाड र हिमाली जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको छ । वर्षातको समयमा लामखुट्टेको प्रजननदर बढी हुने भएकोले यो समय डेङ्गुका बिरामी बढी देखिने गरेका छन् ।”
बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरुको परीक्षण गर्दा डेङ्गु र स्क्रब टाइफसको संक्रमण देखा पर्ने गरेको छ । परीक्षण नगराएका व्यक्तिहरुमा समेत डेङ्गु र स्क्रब टाइफसको संक्रमण हुन सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ लगातार वर्षा भइरहेको छ । वर्षातको समयमा डेङ्गु र स्क्रब टाइफसको जोखिम झन बढी हुने भएकोले शंका लागेमा परीक्षण गर्न आग्रह छ । ”
यसैबीच डेङ्गु बिरामी बढ्दै गएपछि यहाँ सचेतनामूलक र सरसफाइ अभियान पनि सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोज र नष्ट गर’ सञ्चालन गरिरहेका हुन् ।
दोगडाकेदार गाउँपालिकाले डेंगी रोगको महामारी फैलन सक्ने भएकोले त्यसको रोकथाम र नियन्त्रणका लागि तीन महिने अभियान सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनकराज कलौनीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ डेंगी रोगको महामारी फैलन सक्ने भएकोले सबै सार्वजनिक निकाय,कार्यालय विद्यालय तथा सार्वजनिक स्थलहरुमा सरसफाइ तथा लामखुट्टेको प्रजनन् स्थल “वासस्थान खोज र नष्ट गर” अभियान सञ्चालन भइरहेको छ । ”
सरसफाइ अभियान संगसंगै विद्यालयमा सचेतना कक्षा समेत सञ्चालन भइरहेका छन् ।
माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । वर्षातको समयमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका हुन् ।
पशुचौपायाहरु घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ ।
एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ । मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्ने जस्ता लक्षणहरु देखा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
