काठमाडौं : अस्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल पाकिस्तान शाहीन्ससँग नेपाल पराजित भएको छ।
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा भएको खेलमा पाकिस्तान शाहीन्सले नेपालमाथि १ रनकाे रोमाञ्चक जित निकालेको हो।
सेमिफाइनलमा पुग्नका लागि जित्ने पर्ने खेलमा नेपाल अन्तिम ओभरमा कमजोर बन्यो । यस हारसँगै १० टोली सहभागी प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।
डार्विनको मरारा क्रिकेट शुक्रबार भएको रोमाञ्चक खेलमा जितका लागि एक सय ४५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको एक सय ४३ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । उहाँले ४४ बलमा ६ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गरे। यस्तै दीपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले २७ र लोकेश बमले १० रन बनाए । बलिङमा पाकिस्तानका मोहमद वासिम र फैसल अकरमले दुई दुई तथा मोहमद सलमानले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनायो । उसका लागि कप्तान इरफान खानले अविजित ४२, मोहम्मद वासिमले २३, अब्दुल समदले २६ र यासिर खानले १८ रन जोडे ।
नेपालका लागि सोमपाल कामीले तीन, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई/दुई तथा कुशल भुर्तेलले एक विकेट लिए ।
