बैतडी: मौलिक संस्कृति जगेर्ना गर्नको लागि बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा अन्तर माध्यमिक विद्यालय स्तरीय बृहत तीज विषेश सांस्कृतिक प्रतियोगिता हुने भएको छ ।
श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा हुने नृत्य प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयहरुको सहभागिता रहनेछ ।
हिन्दु महिलाहरुको मुख्य पर्वको हरितालिका तीजको अवसरमा भदौ ८ र ९ गते हुने प्रतियोगिता क्याम्पसको प्रांगणमा सञ्चालन हुनेछ ।
मौलिक संस्कृति झल्कने गीत तथा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने विद्यालयलाई प्राथमिकता दिइनेछ ।
उत्कृष्ट छनौटका लागि निर्णायक मण्डल गठन गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयो ।
यस्तै द्वितीय पुरुस्कार १५ हजार नगदसहित प्रमाणपत्र, तृतीय पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार ५ हजार नगदसहित र प्रमाणपत्र प्रदान गरिनेछ ।
नृत्य प्रतियोगिताका साथै अन्य सांस्कृतिक कार्यक्रम पनि रहने श्रीकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति नविन कपाडीले बताउनुभयो ।
स्थानीय संस्कृति झल्किने छलिया नृत्य, सगुन, फाग लगायतको प्रस्तुतीकरण रहने क्याम्पसले जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मिडिया पार्टनरका रुपमा कुशल खबर र उदाउने मिडिया रहेका छन् ।
श्रीकोट बहुमुखी क्याम्पसले गत वर्षदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय तीज प्रतियोगिता गर्दै आएको छ ।
गत वर्ष बेताल मावि गोरङ प्रथम भएको थियो ।
