बैतडी:बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम स्थानीय तहहरुबाटै भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले दर्ता शिविर सञ्चालन गरेर विवरण संकलन काम पालिकाहरुबाटै गरिरहेको हो ।
जेष्ठ नागरिकहरुको समस्यालाई ध्यानमा राखेर स्थानीयस्तरमै विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
यसअघि जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय पुर्चाैडीबाट सञ्चालन हुँदै आएको थियो ।
उहाँले भन्नुभयो,“सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने प्रक्रियालगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य भनेको छ ।
दुर्गमका नागरिकले परिचय पत्र बनाउनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । उक्त बाध्यताको अन्त्यका लागि परिचयपत्र विवरण सङ्कलनको कार्यलाई स्थानीय तहमा विस्तार गरेका छौं । ”
हाल जिल्लाका तीन स्थानीय तहका दर्ता शिविर सञ्चालनमा रहेको छ ।
शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिविरमार्फत राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम भइरहेको छ ।
पालिकामै परिचयपत्रको विवरण संकलनको काम शुरु भएपछि स्थानीय नागरिक खुसी भएका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो,“परिचयपत्र बनायनकै लागि हजारौं खर्च गरेर सदरमुकाम जान बाध्य नागरिकलाई पालिकामै शिविर सञ्चालन भएपछि सहज भएको छ । गाउँपालिकामै शिविर सञ्चालन भएसंगै स्थानीयबासी खुसी समेत भएका छन् ।”
यसअघि पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइसकेको छ ।
पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा पनि छिटै शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम अघि बढ्ने जिल्ला प्रशासन कार्यायलले जनाएको छ ।
पुर्चाैंडी नगरपालिकामा इलाका प्रशासन कार्यालयमार्फत तथा दशरथचन्द नगरपालिकामा जिल्ला प्रशासन कार्यालय मार्फत परिचयपत्र वितरणको काम निरन्तर रुपमा भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै राष्ट्रिय परिचयपत्र वितरण र विवरण सङ्कलनमा अझै छरितो र प्रभावकारी सेवा प्रवाहमा जोड दिएको छ ।
यस कार्यबाट जिल्लाका सबै नागरिकले सरकारी सेवा तथा विभिन्न अवसरहरूमा परिचयपत्रको सहज पहुँच पाउने विश्वास व्यक्त गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
जिल्लामा वि स २०७७ असोज पहिलो सातादेखि यहाँ राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम सुरु भएको थियो ।
राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएकाले आफ्नो नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालय आग्रह गरेको छ ।
