बैतडीमा शतप्रतिशत रोपाइँ सम्पन्न

बैतडी:बैतडीमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरि दत्त जोशीका अनुसार जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

समयमै वर्षा नहुँदा रोपाइँ गर्न ढिलाइ भएको हो । उहाँले भन्नुभयो,“ सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ असारमै र आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा ढिला गरी रोपाइँ सकिएको छ ।”

यसका साथै वर्षमा ३ खेती गर्ने बेसी क्षेत्रमा पनि ढिला रोपाइँ सम्पन्न भएको जनाएको छ ।

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । समयमा रोपाइँ सम्पन्न नहुँदा रोगकिराको समस्या देखिन सक्ने सम्भावना हुने कृषि प्राविधिकहरुले बताएका छन् ।

धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेंसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ ।

पछिल्लो समयमा यहाँ धानखेती हुने जमीन समेत घट्दै गएको छ । ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको बैतडीमा हाल ५ हजार १२५ हेक्टरमा मात्रै धानखेती गर्ने गरिएको छ ।
धानखेती हुने जमीन मध्ये ५२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकी जमीनमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।

यहाँको पाटन, गोकुलेश्वर, सलेना, हाट, सुर्नया,सेरालगायतका क्षेत्रलाई धान उत्पादनको पकेट क्षेत्रमा रूपमा चिनिन्छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!