बैतडी: नेपाली कांग्रेस बैतडीले वडा सम्मेलन सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
जिल्लाको डिलाशैनी गाउँँपालिकामा यही भदौ ८ गतेदेखि वडा सम्मेलन सञ्चालन हुने नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।
भदौ ८ गते डिलाशैनीको वडा नम्बर १,२ र ३ को संयुक्त वडा सम्मेलन वडा नम्बर २ को पार्टी कार्यालयमा हुने उहाँले बताउनुभयो ।
यस्तै भदौ ९ गते वडा नम्बर ५ र ६ को संयुक्त वडा सम्मेलन पुलबजार गोकुलेश्वरमा सम्पन्न हुने जनाएको छ ।
वडा सम्मेलनमा नेपाली कांग्रेस बैतडीका सभापती चतुर बहादुर चन्दलगायतका पदाधिकारीहरुको उपस्थीति रहनेछ ।
डिलाशैनीमा सम्मेलन हुन बाँकी रहने अन्य वडाहरुको सम्मेलन पनि केही दिनमै सम्पन्न गरिने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ वर्षातका कारण डिलाशैनीका ४ र ७ नम्बर वडामा आवतजावत गर्न असहज भएकोले केहि दिनपछि यी वडाहरुमा पनि सम्मेलन गर्छौ । ”
वडा सम्मेलनमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्नुका साथै क्रियाशील सदस्यता वितरण गरिने नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशी(जयराज)ले बताउनुभयो । ।
नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउन, क्रियाशील सदस्यता वितरण गर्न, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यका साथ वडा सम्मेलन गरिन लागिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।
नेपाली कांग्रेसको विधान अनुसार जिल्लाका ८४ ओटै वडामा सम्मेलन सम्पन्न गरिने बताइएको छ ।



