काठमाडौं: नेपालले टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो शानदार जित हात पारेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो।
मेलबर्नका लागि अर्जुन नैर २६ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। जय लेमिरे १८ रनमा रन आउट भए। ह्यारी डेक्सनले १६ रन थपे। ओलिभर पिक १४ रनमा रनआउट भए।
नेपालकाे जितमा साेमपाल कामी एक्लैले ५ विकेट लिए।
त्यसअघि डार्विनस्थित काजालिस एरिना पामर्स्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि कुशल मल्लले २९ र दिपेन्द्र सिंह ऐरिले २७ रन बनाए। लोकेश बमले २४ रन थपे। रुपेश सिंह १६ रनमा नटआउट रहे। भीम सार्की १७ र आरिफ शेख १२ रन बनाउँदै पेभेलियन फर्के।
आजकाे खेलमा दिपेन्द्रसिंह ऐरीलाई कप्तानकाे जिम्मेवारी दिइएको थियाे। नियमित कप्तान राेहित पाैडेललाई आराम दिइएको थियाे।
योसँगै नेपालले ५ खेलबाट ४ अंक जोडेको छ।
यसअघि हिजाे सम्पन्न आफ्नाे चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएकाे थियाे।
नेपालले तीन हारपछि उत्कृष्ट पुनरागमन गरेकाे छ।
नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग तथा तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
नेपालले अब शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
विश्वकपकाे तयारीस्वरूप नेपालले याे सिरिज खेलिरहेको छ।
