सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइदै

प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

बैतडी: आज भदौ १ गते । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ ।

यसका साथै विहानै धुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।
वर्षापछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । यो दिन ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दुध, दही, घिउ,गूड र पक्वान आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेकोछ ।

धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक तथा तथा जेठो पर्व रुपमा पनि रही आएको छ । भने सिंह संक्रान्ती पनि भन्ने गरिएको छ ।
ओल्को भन्नाले सम्मानित ब्यक्तिलाइ दिइने केहि बस्तु वा उपहारलाइ जनाउने पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । उहाँले भन्नुभयोे“ठुलालाइ सम्मान र सानालाइ माया गर्नु हाम्रा पर्बहरुका त मुख्य बिशेषता हो, ओल्कोलाइ शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै नभईसंस्कृति, परम्परा र आस्थाको रुपमा पनि चिनिन्छ । ”

बुढी हालिने
यहाँ आजको दिनमा बुढी समेत बनाइन्छ । ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिएको छ । यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । यस अनुष्ठानलाई द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग पनि जोडिएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै यो ’बूढी पोल्ने’ पर्व मनाइने गरिएको पण्डित भन्नुभयो, “घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ, घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ ”
यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग व्याधीबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ । भगवान कृष्णलाई पुतना राक्षेसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षेशनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदाभएको तथा मरेको लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ ।
यसैबीच ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!