एजेन्सी: दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन्।
प्रहरीका अनुसार करिब आठ जना बन्दुकधारीले आक्रमण गरेका थिए। उनीहरूले बारमा रहेका केही ग्राहकको तलासी लिएर मोबाइल फोनसमेत लगेपछि दुईवटा पहिचान नखुलेका सवारीसाधनमा फरार भएका थिए। घटना स्थानीय समयअनुसार शनिबार राति करिब ७ः३० बजे भएको बताइएको छ।
प्रहरीले आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट नभएको जनाएको छ। फरार हुनुअघि संदिग्धहरूले दुईवटा सवारीसाधनमा आगजनी गरेको प्रहरीले बताएको छ। घटनामा संलग्नहरूलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको छ।
यसैबीच, केप टाउनबाहिरको एक टाउनसिपस्थित मनोरञ्जनस्थलमा आइतबार बिहान भएको अर्को गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दक्षिण अफ्रिकामा कानुनी तथा अवैध दुवै प्रकारका हतियारको व्यापक प्रयोग हुने गरेको छ। त्यहाँ गिरोहबीचको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेका छन्।
