बैतडी:नेपाली कांग्रेस बैतडी–कैलाली सम्पर्क समितिको अध्यक्षमा प्रयागराज भट्ट चयन हुनुभएको छ ।
आज सम्पन्न प्रथम भेलाले भट्टको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो।
समितिको उपाध्यक्ष तिलकसिंह धामी र नरसिंह भाट, सचिवमा शंकरसिंह ऐरी, सहसचिव यज्ञराज अवस्थी र अक्कल बहादुर भण्डारी, कोषाध्यक्ष जयन्ती बोहरा चयन हुनुभएको छ ।
सदस्यहरूमा प्रेमबहादुर चन्द, सुवाश मडै, ईश्वरदत्त पन्त, शंकरदत्त भट्ट, मोहनबहादुर बम, भक्तराज भट्टराई, दीपेन्द्र भट्ट र लक्ष्मी केसी रिजाल रहेका छन् । बाँकी सदस्य पछि मनोनयन गरिने जनाएको छ ।
यस्तै नेपाल प्रेस युनियनका प्रदेश लेखा समिति संयोजक कृतबहादुर बिष्टलाई प्रेस तथा प्रचार–प्रसार विभागको संयोजकमा मनोनयन गरिएको छ ।
यसअघि भेलाको उद्घाटन समारोहमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावलले सहिद दशरथ चन्दको जिल्लाले शिक्षा र संस्कृतिमा अग्रस्थान पाएको स्मरण गर्दै बैतडीको विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी केन्द्रीय सदस्य नृपबहादुर वडले आपसी सहकार्यबाट मात्र पार्टी बलियो हुने भन्दै सम्पर्क समितिले बैतडी र कैलालीबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले कैलालीमा रहेका बैतडीबासीले कांग्रेसलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अर्को प्रसंगमा उहाँले बैतडीलाई विकासमा पछाडि पार्ने प्रवृत्तिको आलोचना गर्दै सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभयो ।
यस्तै कांग्रेस कैलालीका सभापति तथा राष्ट्रियसभा सदस्य नारायण दत्त भट्ट र नेपाली कांग्रेस पूर्व पार्टी सभापति तथा प्रदेशसभा सदस्य शिबराज भट्टले संगठन विस्तारमा सम्पर्क समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

