काठमाडौं: नेपाली स्टार खेलाडी सन्दीप लामिछाने आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट खेल्न जाने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सन्दीप समावेश हुने जनाएको छ।
उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेकाे र लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको विज्ञप्तिमा भनिएको छ ।
सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।
साथै, लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराइएको छ।
नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।
सन्दीप वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

