बैतडी:बैतडीमा रहेको जीर्ण कारागारमा क्षमता भन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती भएको छ ।
चार दशकअघि निर्माण भएको यो कारागार जीर्ण बनेको छ । जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती रहेको कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताउनुभयो ।
यो कारागार २५ जना क्षमताको बन्दीगृह रहेको हो । तर यहाँ ६३ जनालाई राखिएको छ । तर अहिले बन्दी गृहमा ५३ जना कैदीबन्दी र १० जना थुनुवा गरेर ६३ जना रहेका छन् ।
२५ जनाको क्षमता भएको बन्दी गृहमा ६३ जनालाई व्यवस्थापन गर्न समस्या हुने गरेको प्रमुख भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,“दशकौं पुरानो कारागार जीर्ण बनेको छ । त्यसैमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसाई व्यवस्थापन र सुरक्षामा चुनौती छ ।”
यस कारागारमा महिला कैदीबन्दी राख्ने ठाउँ छैन् । महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको छ । बन्दी व्यवस्थापनका लागि समस्या हुँदा महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको छ ।
खाट माथि खाट राखेर बन्दीहरुको बसाइ व्यवस्थापन गरिएको प्रमुख भण्डारीले बताउनुभयो । पुरानो जीर्ण भवनमा बन्दीहरुलाई व्यवस्थापनका लागि निकै समस्या भएको छ । उहाँले भन्नुभयो,“जस्तापाताले छाएको जीर्ण भवनमा बर्षातको समयमा चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या रही आएको छ । यसका साथै खानेपानी आपूर्ति र सरुवा रोगको पनि जोखिम छ ।”
वि स २०४० सालमा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दा समेत नयाँ भवन बन्न सकेको छैन् ।
चालु आर्थिक बर्षदेखि नयाँ भवन निर्माणको काम हुने बताइएको छ । नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र आगामी असोज ÷कार्तिकदेखि भवन निर्माणको काम शुरु हुनेछ ।
सघन शहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत भवन निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको जनाइएको छ । १० करोडको लागतमा कारागारको नयाँ भवन निर्माण हुने बताइएको छ ।
यसका साथै खानेपानी योजनाका लागि प्रदेश सरकारले १० लाख विनियोजन गरेको प्रमुख भण्डारीले बताउनुभयो ।
