बैतडी: नेपाल-भारत अन्तरदेशीय सीमा सुरक्षा समन्वय बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ ।
बैठकमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशले मिलेर अघि बढ्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
यस्तै भारतसंग जोडिएका सीमा नाकामा दुवै देशका नागरिकको आवतजावतलाई अझै सरल बनाउने बिषयमा छलफल भएको छ।
यस्तै सीमा नाकाबाट हुन सक्ने अवैध चोरी निकासी, मानव बेचबिखन लगायतका आपराधिक गतिविधि रोक्नका लागि दुवै देशका सुरक्षा अधिकारीहरुले मिलेर काम गर्ने निर्णय समेत भएको छ ।
यस्तै सीमा क्षेत्रमा लागू औषध कारोबारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने बिषयमा पनि बैठकमा छलफल भएको छ । सीमावर्ती भारतीय बजारमा लागू औषध सेवन गरेर नेपाली युवाहरु कुलतमा फसिरहेको बिषयमा छलफल भएको र त्यसलाई नियन्त्रणका लागि दुवै देशले सहकार्य गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
यस्तै भारतमा हुन गइरहेको स्थानीय पञ्चायत निर्वाचनलाई ध्यानमा राखेर ७२ घण्टा सीमा नाका बन्द गरिने भएको छ ।
सो अनुसार झुलाघाट नाका जुलाई २५ तारिखदेखि ७२ घण्टा र दार्चुलाको पुलघाट नाका २१ तारिखदेखि ७२ घण्टा बन्द गर्ने निर्णय गरेकाे छ।
बैठकमा नेपालकातर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल नेतृत्वको टोली, दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली र भारतकातर्फबाट पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामी नेतृत्वको टोलीको सहभागिता रहेको थियो ।
बैठकमा बैतडी र दार्चुलाका सुरक्षा निकायका प्रमुख र पिथौरागढ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
