बैतडी:उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकार लागिपरेकाे बताउनुभएको छ।
दाेगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घाेषणा समारोहमा बाेल्दै उहाँले वर्तमान सरकारले केही गर्न सकेको छैन भन्ने भाष्य गलत रहेको बताउनुभयाे।
उहाँले भन्नुभयाे,” वर्तमान सरकार जनआकांक्षा पूरा गर्न सरकार लागिपरेकाे छ। केही पनि भएको छैन भन्ने भाष्य गलत हाे।”
नेपालमै थुप्रै सम्भावना रहेकाले स्वदेशमै स्वराेजगार बन्नुपर्नेमा उहाँले जाेड दिनुभयाे। उहाँले भन्नुभयाे,हाम्रै वरिपरि थुप्रै सम्भावना छन्। ती सम्भावनाकाे खाेजी गरेर उद्यमी बन्न जरूरी छ। त्यसमा सरकारले पनि सहयोग गर्छ।”
खानी,खनिज,जडीबुटी,कृषिमा सम्भावना रहेकाे बताउदै उहाँले नेपालमै राेजगारीका अवसर रहेका बताउनुभयो । उहाँले भन्नुभयो,” यहाँ रहेका खानीहरूकाे परीक्षण, उत्खनन र उपभाेगका लागि सरकार लागेकाे छ।त्यसपछि राेजगारी पनि सिर्जना हुन्छ।”
समाराेहमा बाेल्दै गाउँपालिका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य र शिक्षा क्षेत्र प्राथमिकता रहेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे,” स्वास्थ्य क्षेत्र प्राथमिकतामा छ। १० शैय्या अस्पताल सम्पन्न भइरहेको छ। साउनदेखि सञ्चालन गर्ने तयारीमा छाैं।”
गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले महिला र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाे बताउनुभयाे।
दाेगडाकेदारका १७ स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुति सेवा सञ्चालन रहेकाे छ। यस्तै गर्भवती र सुत्केरीका लागि निशुल्क एम्बुलेन्स, मातृशिशु काेष र उपाध्यक्षकाे काेशेली वितरणका कार्यक्रम हुँदै आएका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाभित्रका ३०८ गर्भवती महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि गाउँपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी पालिका घाेषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।
घाेषणा समारोहमा पूर्ण संस्थागत सुत्केरी घाेषणा गर्न याेगदान गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरिएको छ।

