टी-२०आई सिरिज: ऐतिहासिक तेस्रो सुपर ओभरमा नेपाल नेदरल्यान्ड्ससँग  पराजित

काठमाडौं:स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ ।
तेस्रो सुपर ओभरमा नेपालले कुनै रन बनाउन सकेन ।
पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने त्यसपछि दुई बल डट भएका थिए ।
चौथो बलमा रुपेश सिंह आउट भएपछि नेपालले तेस्रो सुपर ओभरमा कुनै रन बनाउन सकेन र नेदरल्यान्ड्सले केवल एक रनको लक्ष्य पायो । सो लक्ष्य नेदरल्यान्ड्सले पहिलो बलमा नै पुरा गरेको थियो ।

यस अघि दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपाललाई १८ रनको लक्ष्य दिएको थियो । नेपालले ६ बलमा १७ रन बनाएपछि खेलको निर्णय तेस्रो सुपर ओभरमा भएको हो । त्यसअघि पहिलो सुपर ओभरमा नेपालले नेदरल्यान्ड्सलाई दिएको २० रनको लक्ष्य पछाएको नेदरल्यान्ड्सले सुपर ओभरमा १९ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको थियो ।

टी-२० क्रिकेटको इतिहासमा तीन पटक सुपर ओभर भएको यो पहिलो पटक हो ।

त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो । नेपालका लागि अन्तिम बलमा ५ बल आवश्यक रहेकोमा नन्दन यादवले चौका प्रहार गरेपछि रन बराबर भएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४८ रन बनाएका थिए । भने कुशल भुर्तेलले ३४ रन बनाएका थिए । त्यस्तै रुपेश सिंहले १९, किरण ठगुन्नाले १५ र नन्दन यादवले अविजित १२ रन बनाका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो । नेदरल्याण्डसका लागि तेजा निदामनुरुले ३५ रन बनाए भने विक्रमजित सिंगले ३०, सकिब जुल्फिकरले २५, माइकल लेभिटले २०, म्याक ओ डोउडले १९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यसै गरी ललित राजबंशी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले डेब्यू गरेका छन् ।

यो नेपालको १००औं टी-२०आई खेल पनि हो ।

त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!