राष्ट्रिय एकताका लागि जागरण अभियान महत्वपूर्णः अध्यक्ष प्रचण्ड

पाटन विमानस्थल सञ्चालन गर्न अपिल

बैतडी: पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई एकताबद्ध गर्न लागि जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

शुक्रबार बैतडीको पाटनमा ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

जनताका समस्या नजिकबाट सुन्नका लागि अभियान सञ्चालन गरिएको र समस्याको सम्बोधनका लागि सिंहदरबार र सडकबाट पहल गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“राष्ट्रिय एकताको सन्देश दिन अभियान सञ्चालन गरेका हौं । सबै जनतालाई एकताबद्ध बनाउन चाहन्छौं । यो अभियान राष्ट्रिय एकताको सुत्रमा बाध्न महत्वपूर्ण हुनेछ।”

तराई–पहाड र हिमाललाई एकताबद्ध रुपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ यो सरकार जनताको विरुद्ध काम गरिरहेको छ । जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दिने काम गरिरहेको छ । यो अभियानले सरकारलाई खबरदारी पनि गर्नेछ ।”

माओवादी पार्टी जनताको पार्टी रहेको बताउदै उहाँले उत्पीडित वर्गको हाअधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्ने उहाँले तर्क गर्नुभयो ।

किसानका समस्या समाधानका लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो,“ किसानको जीवनस्तर परिवर्तन गर्नका लागि उत्पादन र उत्पादकत्व बृद्धि गरि कृषिमा क्रान्ति गर्न जरुरी छ ।”

सुदूरपश्चिम विकासको गतीमा अझै पछाडी परेको बताउँदै उहाँले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“दशे बलियो हुनका लागि सुदूरपश्चिमको विकास जरुरी छ । हामी सरकारमा हुँदा सुदूरपश्चिममा ठुला योजना र कार्यक्रम सञ्चालन गरेका छौं ।”

२०८४ को आमनिर्वार्चनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने उद्घोष गर्दै अध्यक्ष दाहालले आउने चुनावमा माओवादीलाई बलियो बनाउन आह्वान गर्नभयो ।

कर्मचारी ऐनको माग गर्दै आन्दोलनमा रहेका सुदूरपश्चिमका कर्मचारीको माग सम्बोधन गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नभयो ।

उहाँले भन्नुभयो,“ देशका अन्य प्रदेशमा कर्मचारी ऐन जारी भइसकेपनि सुदूरपश्चिममा अझै आउन सकेको छैन् । सुदूरपश्चिमका कर्मचारी ऐनको माग गर्दै आन्दोलित छन् । उनीहरुको माग सम्बोधन गर्न प्रदेश सरकार र केन्द्र सरकारलाई अपिल गर्दछु ।”

यसका साथै करौडौं खर्च गरेर पुनः निर्माण गरिएको पाटन विमानस्थल सञ्चालन सञ्चालन हुन नसकेकोप्रति अध्यक्ष दाहालले दुःख व्यक्त गर्नभयो ।

उहाँले भन्नुभयो,“ विमानस्थल सञ्चालनमा आउन सके यहाँको आर्थिक सम्बृद्धि र पर्यटन प्रवद्र्धन टेवा पुग्नेछ । त्यसैले पाटनमा हवाई मार्ग सञ्चालनका लागि माग गर्दछु ।”

यसअघि अध्यक्ष दाहालले आजै पाटनमा निर्मित स्मारक उद्घाटन गरेर जनजागरण अभियानको शुभारम्भ गर्नुभएको वाइसिएलका केन्द्रीय सचिव नवराज ऐरले बताउनुभयो ।

जनजागरण अभियानका लागि यहाँ आइपुग्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन समेत गरेको थियो ।

अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आउनुभएको छ ।

अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ ।

यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!