काठमाडौं: सरकारले गठनपछि पहिलो क्याबिनेट बैठकमार्फत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई फ्लडलाइटसहितको आधुनिक रंगशालामा रूपान्तरण गर्ने निर्णय गरेको ३०० दिन पुग्न अब दुई दिन मात्र बाँकी रहँदा निर्माण कार्य अझै अधुरो छ।
निर्धारित समयसीमा नाघ्न लागेको देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिहरुलाई बालुवाटारमा बोलाएर ढिलाइको कारणबारे प्रत्यक्ष स्पष्टीकरण लिएका छन्।
प्रतिनिधिहरुले त्रिभुवन विश्वविद्यालयको जग्गा प्राप्तिमा भएको ढिलाइ, रुख काट्नुपर्ने कानुनी प्रक्रिया, निर्माण थालिएपछि परेको पानीले कालो माटो हटाउन परे जस्ता चुनौतीका कारण समयमै काम सक्न नसकेको बताए। काम तीन सिफ्टमा भए पनि अप्ठ्याराहरूले प्रगति प्रभावित भएको उनीहरुको भनाइ थियो।
प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा कारण जेसुकै भए पनि तोकिएको समयमा काम पूरा गर्नु पर्ने सरकारको प्राथमिकता भएको उल्लेख गर्दै समयमै काम नसकिएकोमा असन्तुष्टि व्यक्त गरे।
उनले आगामी दुई महिनाभित्र प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्ने प्रतिबद्धता कार्यान्वयन नभए सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन्। सरकारको योजना अनुसार असारको अन्तिमसम्म कीर्तिपुरमा पूर्ण सुविधायुक्त क्रिकेट रंगशाला तयार हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत ३१ असारमा पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लड लाइट जडान गर्ने घोषणा गरेका थिए । उक्त ३०० दिन यही २४ वैशाखमा सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।
प्याराफिटका लागि ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।
