बैतडी: आन्दोलित कर्मचारी काममा फर्किएपछि बैतडीको पुर्चौडी नगरपालिकाका सेवा बुधबारदेखि सुचारु भएका छन् ।
नगरपालिकाका प्राविधिक कर्मचारी केशव बहादुर ऐरमाथि हातपात भएपछि मंगलबारदेखि नगरका सबै कर्मचारीले सामूहिक रुपमा सेवा ठप्प पारेरर आन्दोलित भएका थिए ।
नगरपालिकाको १ मा संचालन हुने चिस्यान केन्द्र स्थापना तथा स्थानिय हाट बजार प्रबद्र्धनका लागि पुर्वाधार योजना निर्माण स्थलमा खटिएका बेला सोमबार प्राविधिक कर्मचारी ऐरमाथि सोही उपभोक्ता समिति अध्यक्ष बिर बहादुर गडालले हातपात तथा अन्य कर्मचारी माथि गालीगलौच गरेका हुन् ।
कर्मचारीमाथि हातपात र गालीगलौच गर्ने उपभोक्ता समितिका अध्यक्ष गडालले माफी मागेपछि आन्दोलित भएका कर्मचारी बुधबारदेखि काममा फर्किएका छन् ।
कर्मचारी काममा फर्किएपछि नगरका सेवाहरु सुचारु भएका पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिनुभयो ।
गडालले सार्वजनिक रुपमा गल्तीको स्वीकार गर्दै माफी मागेपछि नियमित कामकाज सुरु भएको छ ।
यसअघि फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट हुनु जघन्य अपराध रहेको भन्दै कारवाहीको माग राख्दै सेवा ठप्प पारिएका थिए ।
घटनापश्चात नगरप्रमुख दिपकबहादुर बमले कर्मचारीहरुको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउँदै छलफल गरेर समस्याको समाधान निकाल्ने बताउनुभएको थियो ।
