दोगडाकेदारमा सुरू भयाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा आजदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएकाे छ।

गाउँपालिका-७ लवलेकस्थित भागरथी स्मृति खेलमैदानमा सुरू प्रतियोगितामा यहाँका ११ विद्यालयको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्टले बताउनुभयो ।

रनिङ शिल्डको औपचारिक उद्घाटनको दिन आज विद्यालयस्तरीय नृत्य तथा गायन प्रतियोगिता समेत राखिएको थियो ।
आज पहिलो दिन नृत्य तथा गायन संगसंगै छात्र र छात्रा सय मिटर दौड प्रतियोगिता समेत सम्पन्न गरिएको छ ।

जसमा छात्र तर्फ श्रीकेदार मावि पीपलकोटका दिपक भुलले प्रथम, न्वाली मावि दोलीका सुरज दमाईले द्वितीय र सनातनधर्म मावि श्रीकोटका सागर कार्कीले तृतीय स्थान हाँसिल गरेका छन् ।

यस्तै छात्रा तर्फ भगवती मावि सित्तडकी अनिता जोशीले प्रथम, रौलेश्वर मावि मल्लाढीककी कौशीला कुँवरले द्वितीय र भगवती मावि सित्तडकी सोनम गोयलाले तृतीय स्थान हाँसिल गरेकी छिन् ।

गाउँपालिका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा गरिएको उद्घाटन समारोहमा बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी (लख्खाभाई) प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै जोशीले संघ तथा प्रदेश सरकारहरुले खेलकुद क्षेत्रलाई उपेक्षा गरेपनि स्थानीय तहहरुले खेलकुदलाई प्रथमिकता दिइरहेको बताउनुभयो ।
स्थानीय तहहरु स्वयंमले विभिन्न प्रतियोगिताहरु आयोजना गरेर प्रतिभावान खेलाडीहरु बहिर ल्याइरहेको उहाले बताउनुभयो ।  

उहाँले भन्नुभयो ‘संघ सरकारले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि जम्मा एक लाख बजेट बिनियोजन गर्ने गर्छ तर स्थानीय तहहरुले विभिन्न प्रतियोगिताहरु संचालन गर्दा ५० लाख बढी व्ययभार खेप्नुपर्ने अवस्था छ ।’

कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष चक्र कार्कीले खेलकुदको विकासका लागि गाउँपालिकाले विगत देखिनै काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले खेलमैदान निर्माण र खेलाडीहरुलाई प्रोत्सानका कार्यक्रमहरु समेत गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले दोगडाकेदार गाउँपालिकाको प्रसंसा गर्दै अन्य पालिकाले समेत खेलकुदको विकासका लागि यहाँबाट सिक्नुपर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले स्वागत मन्तव्य राख्नुभयाे।

आजबाट सुरु भएको प्रतियोगिता चार दिन सम्म चल्ने छ । यो प्रतियोगितालाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डकाे तयारीका रुपमा समेत लिइएको गाउँपालिकाले जनाएको छ ।  

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!