राष्ट्रपति रनिङ्ग शिल्डको तयारीमा स्थानीय तह

बैतडी: बैतडीका स्थानीय तहहरुमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी भएको छ । जिल्ला खेलकुद समितिले आगामी माघ २० गतेभित्र यहाँका सबै स्थानीय तहहरुलाई राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न गर्न पत्राचार गरेको थियो ।

खेलकुद समितिले पत्राचार गरेसंगै यहाँका १० वटै स्थानीय तहहरु रनिङ्ग शिल्डको तयारीमा जुटेका हुन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा यही पुस २४ गतेदेखि २७ गतेसम्म रनिङ्ग शिल्ड हुने भएको छ । गाउँपालिका–७ लवलेकस्थित भागरथी स्मृति खेलमैदानमा पालिकास्तरीय रनिङ्ग शिल्ड सञ्चालन हुने दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिनुभयो ।

प्रतियोगितामा पालिकाभरीका ११ वटै विद्यालयको सहभागीता रहने गाउँपालिकाका शिक्षा अधिकृत चक्रदेव जोशीले बताउनुभयो ।

सिगास गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पुस २५ गते देखि २८ गते सम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता अर्जुन मावि गाँजरीको खेलमैदानमा सञ्चालन हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

पालिकास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलकुद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
यहाँका बाँकी आठ स्थानीय तहहरुले पनि रनिङ्ग शिल्ड सञ्चालनको तयारी गरेका जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो ।

पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएपश्चात माघ अन्तिम साता १५ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड सञ्चालन हुनेछ ।

माघ २० गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न गरेर एक हप्ताभित्र जिल्लास्तरीय छनौटका लागि खेलाडीको नामावली पठाउन आग्रह गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ पालिकास्तरीय रनिङ्ग शिल्ड माघ २० सम्म अनिवार्य गर्न भनेका छौं । उक्त मितिसम्म प्रतियोगिता सम्पन्न गरेर खेलाडी छनौट गरि जिल्ला खेलकुद समितिलाई पठाउन आग्रह गरेका छौं । ”

रनिङ्ग शिल्ड प्रतियोगितामा एक खेलाडीले एक विधामा मात्र भाग लिन पाउने जनाएको छ ।

गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!