बैतडी:बैतडीमा सम्पन्न २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे उपाधि नागार्जुन रणशैनी युवा क्लब(एनआरवाइसी)ले हात पारेको छ।
आज सम्पन्न फाइनल खेलमा पञ्चकाेटी युवा क्लबमाथी १९९ रनले हराउँदै एनआरवाइसीले उपाधि हात पार्याे।
उपाधिसंगै एनआरवाइसीले १ लाख पुरस्कार पायाे भने पञ्चकाेटीले ५० हजारमा चित्त बुझायाे।
दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे एनआरवाइसीले निर्धारित ४० ओभरमा ९ विकेटकाे क्षतिमा २८६ रन बनायाे। जसमा सुरज बाेहराले शतकीय पारी खेले । म्यान अफ द फाइनल समेत सुरजले अविजित १६९ रन बनाए । यस्तै सचिन भट्टले ४६ रनकाे याेगदान गरे।
पञ्चकाेटीका गाेविन्द थापा,सुमित बुडाल र सुरज बुडालले ३/३ विकेट लिए।
जवाफी ब्याटिङ गरेकाे पञ्चकाेटी १९.२ ओभरमा ८७ रनमा समेटियो । उसका जीवन कार्कीले सर्वाधिक ३४ रन हिर्काए।
एनआरवाइसीका मदन चन्दले ५,राम चन्द र सचिन भट्टले २/२ झारे।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएकाे याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौटको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे ।
गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपकाे उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियाे ।
