बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नागार्जुन रणशैनी युवा क्लब(एनआरवाइसी)ले दाेस्राे जित दर्ता गरेको छ।
दाेस्राे जित दर्ता गर्ने क्रममा एनआरवाइसीले साबिक विजेता निङ्गलाशैनी क्रिकेट क्लब(एनसीसी) लाई ४२ रनले हरायाे।
जितका लागि पाएकाे १३९ रनकाे लक्ष्य पछ्याएकाे
एनसीसीले २० ओभरमा ९६ रन मात्रै बनाउन सक्यो ।
उसका प्रविन भाटले २० र रिसिकेश बाेहराले १७ रन जाेडे। एनआरवाइसीका कल्पेश चन्द र सुरज बाेहराले २/२ विकेट लिए ।
यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे एनआरवाइसीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन बनायाे।
जसमा लाेकेन्द्र चन्दले २८ र राम चन्दले २५ रन हिर्काए।
एनसीसीका गजेन्द्र बाेहरा र बसन्त बाेहराले ३/३ विकेट झारे।
एनआरवाइसीकाे याे दाेस्राे जित हाे । याे जितसंगै एनआरवाइसीले फाइनल पुग्ने सम्भावना प्रबल छ। एनसीसीकाे याे दाेस्राे हार हाे। याे हारले एनसीसीकाे फाइनलकाे सम्भावना कमजाेर बनेकाे छ।
वर्षाका कारण आजकाे खेल २० ओभरमा झारिएकाे थियाे।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएकाे प्रतियोगिता मंसिर ३० गते सम्पन्न हुनेछ ।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे ।
गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपकाे उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियाे।
