बैतडी:बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगितामा टिम एनआरवाइसीले विजयी सुरूवात गरेकाे छ। सुखद सुरूवात गर्ने क्रममा एनआरवाइसीले त्रिपुरा क्रिकेट क्लबलाई हरायाे।
जितका लागि पाएकाे १७७ रनकाे लक्ष्य एनआरवाइसीले २७.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा सुरज बाेहराले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५६ रन जाेडे । सुरज खेलका म्यान अफ द म्याच पनि चुनिए ।
त्रिपुराका त्रिलाेक महरले ४ विकेट हात पारे।
यसअघि दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे त्रिपुरा ३३.४ ओभरमा १७६ रनमा अलआउट भयाे । उसका महेन्द्र मार्कण्डले सर्वाधिक ४८ रन हिर्काए।
बलिङमा एनआरवाइसीका भुपेन्द्र चन्दले ४ विकेट लिए।
एनआरवाइसीले विजयी सुरूवात गर्दा त्रिपुराकाे याे दाेस्राे हार हाे। दाेस्राे हारसंगै त्रिपुरा रेलिगेसन तथा प्लेट च्याम्पियनसिपकाे खतरामा परेकाे छ।
त्रिपुराले अब दुई खेल खेल्न बाँकी छ। घटुवाबाट बच्न उसले अबका दुईटैे खेल जित्नैपर्ने दबाव छ भने अन्य टाेलीकाे प्रदर्शनमा पनि भर पर्नेछ।
गत वर्ष सम्पन्न बिडिसिए प्रतियोगिताबाट सेमिफाइनल पुगेर साेझै इलाइट कप खेल्न लागेकाे हाे ।
त्रिपुरासहित एनआरवाइसी,एकेडेमी र निङ्गलाशैनी इलाइट कप खेल्न लागेका हुन्। पञ्चकाेटी प्लेट च्याम्पियन भएर इलाइट कपमा पुगेकाे हाे।
लिग चरणका खेलपछि अंकतालिकाकाे पुछारमा रहने टाेली प्लेट च्याम्पियनसिपमा घटुवा हुनेछ भने शिर्ष दुई टाेलीबीच उपाधि भिडन्त हुनेछ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएकाे प्रतियोगिता मंसिर ३० गते सम्पन्न हुनेछ ।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे ।
गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपकाे उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियाे।
