काठमाडौं: क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि फैसला हुन सकेन्। जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा हेर्दाहेर्दैमा परेको छ।
बहस नसकिएपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा जारी सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरे।
उनीहरूले पर्याप्त प्रमाणविनै काठमाडौं जिल्ला अदालतले कैदको सजाय सुनाएको भन्दै सन्दीपले सफाइ पाउनुपर्ने माग गरे। सन्दीपका तर्फबाट अझै दुई जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ।
पीडितका तर्फबाट सरकारी वकिल र निजी वकिलहरूले बहस गरेका थिए।
अग्राधिकार प्राप्त मुद्दामा भोलि बुधबार बहसले निरन्तरता पाउने र भोलि नै अदालतले फैसला दिने एक कानुन व्यवसायीले बताए।
काठमाडौं जिल्ला अदालतले बलात्कार पीडित बालिग रहेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। त्यसविरुद्ध सन्दीप पुनरावेदन गएका हुन्।
