बैतडी: बैतडी प्रहरीले बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ बस्ने ४० वर्षीय सुरेश सिह विष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
जिल्ला अदालत बैतडीको फैसलाले बहु–बिवाह मुद्दामा ११ महिना २६ दिन कैद सजाय तोकेपछि विष्ट फरार रहेका थिए । विष्टलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–६ बाट पक्राउ गरेको जनाएको छ ।
यस्तै सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । सिगास गाउँपालिका–३ का अन्दाजी १७ वर्षीय एक किशोर गाली गलौज गरेको आरोपमा पक्राउ परेका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत जनप्रतिनिधिहरुलाई छाडा शब्द प्रयोग गर्दै गालीगलौज गरेको भन्दै निवेदन आएको र त्यसपछि ती किशोरलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
