बैतडी: २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए एकदिवसीय क्रिकेट प्रतियोगिता २०८१ यही मंसिर ११ गतेदेखि हुने भएकाे छ।
बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजना हुन लागेकाे याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनाैट प्रतियोगिताकाे रूपमा समेत लिइएको छ।
प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा गरेर सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयो ।
पहिलाे चरणमा प्लेट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन्। जसकाे खेलतालिका पनि सार्वजनिक भएको छ।
सहभागी हुने ११ टाेलीलाई ४ समूहमा विभाजन गरिएको छ।
समूह ए मा कालाशैनी,महारूद्र र पाटन क्रिकेट क्लब, समूह बी मा पञ्चकाेटी, बर्ताेली र थालिगडा, समूह सी मा ग्वाल्लेक र गिरेगडा, समूह डी मा याैङगस्टार, कैलपाल र पाटन भ्याली रहेका छन्।
मंसिर ११ गतेदेखि शुरू हुने प्रतियोगिताकाे उद्घाटन खेलमा कालाशैनी र महारूद्र भिड्नेछन् । मंसिर १२ गते पहिलाे खेलमा पञ्चकाेटी र बर्ताेली भिड्दा दाेस्राेमा महारूद्र र पाटन क्रिकेट क्लब आमने सामने हुनेछन्।
मंसिर १३ गते पहिलाे खेलमा बर्ताेली र थालिगडा तथा दाेस्राेमा पाटन क्रिकेट क्लब र कालाशैनी,मंसिर १४ गते पहिलाेमा पञ्चकाेटी र थालिगडा तथा दाेस्राेमा पाटन भ्याली र याैंगस्टार,मंसिर १५ गते याैंगस्टार र कैलपाल तथा ग्वाल्लेक र गिरेगडा,मंसिर १६ गते कैलपाल र पाटन भ्याली तथा ग्वाल्लेक र गिरेगडा प्रतिस्पर्धा गर्नेछन् ।
मंसिर १७ गते समूह ए र समूह सी काे विजेताबीच पहिलाे सेमिफाइनल खेल हुँदा दाेस्राेमा समूह बी र समूह डी काे विजेताबीच सेमिफाइनलमा भिडन्त हुनेछ ।
मंसिर १८ गते प्लेट च्याम्पियनसिपकाे फाइनल भिडन्त हुनेछ। प्लेट च्याम्पियनसिपकाे विजेता टाेली इलाइट च्याम्पियनसिपका लागि छनाैट हुनेछ।
इलाइट च्याम्पियनसिपकाे खेलतालिका सार्वजनिक हुन बाँकी छ। गत संस्करणमा सेमिफाइनल पुगेका चार टाेली र याे वर्षकाे प्लेट च्याम्पियनसिपकाे विजेता टिमबीच इलाइट च्याम्पियनसिप हुनेछ।
निङलाशैनी क्रिकेट क्लब,दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाईसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए।
प्रतियोगिताका सम्पूर्ण खेलहरू दशरथचन्द क्रिकेटमैदान सुन्दरखालीमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयो ।
याे प्रतियोगिता पहिलाेपटक टर्फ पिचमा हुनेछ।
बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेकाे छ।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टाेलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
प्रतियोगिताकाे मुख्य प्रायाेजक राेयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्याँस) रहेकाे छ। थप सहयाेगका लागि अन्य संघसंस्था र सराेकारवाला सम्पूर्णमा आग्रह गरिएको छ।
गत वर्ष सम्पन्न २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले जितेको थियाे।
खेलाडीहरू उत्पादन र क्षमता अभिबृद्धिका जिल्लास्तरबाटै प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयाे।

