झुलाघाटबाट महाकालीमा खसेका अमर भेटिएनन्,अवस्था अज्ञात

बैतडी:महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चारदिनसम्म पनि फेला पर्न सकेका छैनन् ।
शुक्रबार बैतडीको पुर्चाैडी नगरपालिका ५ कुवाकाेटका ३३ वर्षीय अमरसिंह धामी भारतकाे पिथाैरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका ८ झुलाघाटस्थित बसपार्क नजिकैबाट महाकालीमा लडेर बेपत्ता हुनुभएको थियाे।

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासी चिप्लिएर महाकाली नदीमा खस्नुभएकाे हाे।
बेपत्ता अमरकाे खाेजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे। अमरकाे अवस्था अज्ञात रहेकाे छ।

बेपत्ता अमरकाे खाेजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ। यसका साथै खाेजीका लागि भारतीय सुरक्षाकर्मी एसएसबीलाई पनि आग्रह गरिएको छ।
लगातारकाे वर्षाले महाकालीकाे बहाव बढ्नुका साथै पानी धमिलाे भएकाले खाेजतलासमा समस्या भएकाे प्रवक्ता ढुंगानाले बताउनुभयो ।
भारतकाे पिथाैरागढमा मजदुरी गरेर दशैं मनाउन घर फर्किरहेका बेला महाकालीमा लडेर बेपत्ता भएपछि अमरकाे घरपरिवार शाेकमा डुबेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!