नेपाल पाकिस्तानसँग हार्याे,सेमिफाइनलकाे सम्भावना न्यून
काठमाडौं: श्रीलंकामा जारी एसिया कप महिला टि-२० क्रिकेटमा नेपाल पाकिस्तानसंग ९ विकेटले पराजित भएकाे छ। पहिलाे खेलमा युएईलाई हराएको नेपाल दाेस्राे खेलमा पाकिस्तानसंग स्तब्ध बन्याे।
जितका लागि पछ्याएकाे १०९ रनकाे लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा पाकिस्तानको जीतमा गुल फिरोजाले अर्धशतकीय पारि खेल्दा मुनेवा अलीले ४६ रनको पारि खेलिन् । यी दुबै ब्याटरले पहिलाे विकेटका लागि शतकीय साझेदारी पनि गरे।
गुलले ३५ बलमा १० चौकाको मद्दतले ५७ रन बनाएर आउट भइन् । यसैगरी मुनेवाले ३४ बलमा ८ चौकाको मद्दतमा ४६ रन बनाइन् ।
नेपालका लागि कविता जाेशीले १ विकेट हात पारिन्।
यसअघि ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो।
खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा कप्तान इन्दू बर्मा डकआउट भइन्। कविता र इन्दूलाई सादिया एकबालले आउट गरेकी थिइन्।
अनुभवी रुबिना क्षेत्री पनि ८ रनमा आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो। ओपनिङ ब्याटर सीता रानामगर २६ रनमा बनाएर आउट भइन्। रुबिना र सीता दुवै रनआउटको सिकार बनेका थिए।
त्यसपछि छैटौं विकेटका लागि कविता जोशी र पूजा महतोले ३४ रनको साझेदारी गरेपछि नेपाललाई राहत भएको थियो। अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि पूजाले ३२ बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाइन्।
कविताले नटआउट ३१ रन जोडिन्। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी हुन्।
पाकिस्तानकी सादिया एकबालले २ विकेट लिइन्।
याे हारले नेपालकाे सेमिफाइनल पुग्ने सम्भावना कमजाेर बनेकाे छ।
नेपालले अन्तिम खेल भारतसँग खेल्नेछ।
