काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभाकाे आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नुभएको हाे।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको छ।
बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो। प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन प्राप्त भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए।
प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भन्नेमा १ मत आएको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकबाट जानकारी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियोे । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वास मत लिनुभएकाे हाे।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिए।
प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत उभिएका छन्।
गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो।
जसअनुसार पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ।
यसका साथै राष्ट्रिय सहमतिकाे सरकार र संविधान संशोधन गर्ने पनि सहमति भएकाे छ।
