बैतडी: बैतडीमा जिल्ला स्तरीय वार्षिक समिक्षा तथा आठौं जिल्ला सभा आज सम्पन्न भएको छ । सार्वजनिक महत्वका विभिन्न १३ निर्णय गर्दै वार्षिक समिक्षा तथा जिल्ला सभा सम्पन्न भएको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले जानकारी दिनुभयो ।
धार्मिक पर्यटकिय क्षेत्र संरक्षण तथा सम्बर्धन, सामाजिक विकास तथा गुणस्तर वृद्धि, आर्थिक विकास तथा पुर्वाधार, विपद व्यवस्थापन, भुगर्भ र खानीहरुको सम्भाव्यता अध्ययन तथा उत्खनन्, अल्पकालीन महिला सुरक्षा आवास गृह संचालन समितिको कार्यविधी २०८१ लगायतका १३ वटा निर्णयहरु गरि जिल्ला सभा सम्पन्न भएको हो ।
यस्तै जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लास्थित नगरपालिका र गाउँपालिकाका तथा सरकारी कार्यालयहरुले चालु आर्थिक बर्ष २०८०÷८१मा सम्पादन गरेका कार्यक्रमको बिषयमा जानकारी गराएका छन् ।
कार्यालयहरुले खर्च प्रगतीका बिषयमा पनि जानकारी गराएका छन् । समिक्षा कार्यक्रमका सहभागीहरुले विकास निर्माणमा भएको कमजोरीका बिषयमा प्रश्न गरेकोमा सम्बन्धीत कार्यालयका प्रमुखले जवाफ दिएका छन् ।
समिक्षा कार्यक्रममा अधिकांश कार्यालयहरुले कर्मचारीको अभाव भएको बताएका छन् । जनसक्ति अभावमा कार्य सम्पादनमा समस्या भएको जिल्ला स्थीत कार्यालय प्रमुखहरुको गुनासो रहेको छ । विकासे कार्यालयहरुमा प्राविधिक कर्मचारी र लेखापालको अभाव रहेको उनिहरुको गुनासो छ भने, स्थानियतहमा समेत पुर्ण दरबन्दीको प्रमुख प्रशासकीय अधिकृत र लेखा कर्मचारीको अभाव रहेको बताइएको छ ।
समिक्षा कार्यक्रमका सहभागीले सडक, सरकारी भवन, खानेपानी, बाटो लगायत निर्माणका हरेक योजनाहरुमा गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन् ।
जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठीमा जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र अन्य सरोकारावालाहरुको सहभागिता रहेको थियो ।
