काठमाडौं: दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर ८ गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने भएको छ । दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिले गरेको निर्णयानुसार कर्णालीमा खेलकुद हुन थालेको हो ।
समितिको अनुमोदित तालिकाअनुसार मङ्सिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरु हुनेछ । त्यसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी रहेका छन् ।
दशौँ खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोट्र्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।
यता टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आइटिएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेत रङ्गशालामा हुनेछ । समापन भने मङ्सिर २७ मा हुनेछ ।
