बैतडी: बैतडी जिल्ला खेलकुद समितिले मेलौलीमा आयाेजना गरेको जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत महिलातर्फ शिवनाथ–६ र पुरुषतर्फ दशरथचन्द–२ च्याम्पियन बनेका छन् ।
महिलातर्फ पुर्चौडी नगरपालिका–१ को टोली दोस्रो र मेलौली नगरपालिका–७ को टोली तेस्रो भएको छ । यस्तै, पुरुषतर्फ सिगास गाउँपालिका–५ को टोली दोस्रो र मेलौली नगरपालिका–९ को टोली तेस्रो भएको छ।
प्रथम हुने महिला तथा पुरुष दुवै टोलीले जनही एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, दोस्रो हुने टोलीले ७७ हजार ७७७ र तेस्रो हुने टोलीले ४४ हजार ४४४ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ दशरथचन्द नगरपालिका–२ का नवीन भण्डारी र महिलातर्फ शिवनाथ गाउँपालिका–६ की सरिता चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै सर्वोत्कृष्ट खेलाडीले जनही ७ हजार ७७७ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
गत शुक्रबारदेखि सुरू भएको प्रतियोगितामा महिलातर्फ १४ र पुरुषतर्फ २८ गरी ४२ टोलीको सहभागिता रहेको थियो ।
समापन समारोहमा दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्करराज जोशीलगायतको उपस्थिति रहेकोे थियाे।
स्थानीयस्तरमा खेलाडीको क्षमता विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक बृहत् अन्तरवडास्तरीय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताउनुभयाे।
