बैतडी: बैतडीमा बढ्दो लागूऔषध दुर्व्यसनको समस्या न्यूनीकरण तथा समाधानका उपाय पहिचान गर्ने उद्देश्यले लागूऔषधविरुद्ध बृहत् संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बैतडी र दशरथचन्द नगरपालिकाको सहकार्यमा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रम जिल्ला समन्वय समिति प्रमुखको प्रमुख आतिथ्यता तथा मञ्चका सभाध्यक्ष रन्जित प्रकाश वडको सभाध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे विभिन्न विद्वान् तथा विज्ञहरूबाट फरक–फरक दृष्टिकोणसहित कार्यपत्र प्रस्तुति गरिएको थियो। साथै, दशरथचन्द नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक (डीएसपी) बीच विशेष अन्तरक्रिया गरिएको थियो।
छलफलका क्रममा जिल्लामा बढ्दो लागूऔषध दुर्व्यसनप्रति सहभागीहरूले गम्भीर चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि परिवार र अभिभावकको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए। समस्या समाधानका लागि घरपरिवारदेखि स्थानीय तह, सुरक्षा निकाय, शैक्षिक संस्था र नागरिक समाजसम्मको साझा जिम्मेवारी तथा समन्वय आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा समस्याको चर्चा र चिन्तामा मात्र सीमित नभई यसको व्यावहारिक समाधान खोज्ने उद्देश्यले विभिन्न पक्षबीच समाधानमुखी संवाद तथा अन्तरक्रिया गरिएको थियो। सामूहिक प्रतिबद्धता, सहकार्य र निरन्तर प्रयासबाट मात्रै लागूऔषध दुर्व्यसनको समस्या न्यूनीकरण गर्न सकिने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको हो।
