बैतडी:बैतडीमा सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिताको नाम बैतडी सुपर लिग बीएसएल टी–२० क्रिकेट राखिएको छ ।
संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ १६ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताको संयोजक दिनेश चन्दले बताउनुभयो । उपविजेतालाई नगद दुई लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा म्यान अफ दी सिरिजले २५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले जनही १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा इमर्जिङ प्लेयरले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघका सचिव श्यामबहादुर चन्दले जानकारी दिनुभयो ।
दशरथचन्द क्रिकेट स्टेडियम,सुन्दरखालीमा हुने प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका टोली सहभागी हुनेछन् । पुरुषतर्फको प्रतियोगिता टी–२० फरम्याटमा ग्रुप लिग, सुपर फोर र फाइनल चरणमा खेलाइनेछ ।
सहभागी हुने प्रत्येक टोलीमा १४ जना खेलाडी र तीन जना अफिसियल रहने व्यवस्था गरिएको छ । टोलीमा सम्बन्धित पालिकाका कम्तीमा ८ जना खेलाडी समावेश गर्नुपर्नेछ । बैतडीका अन्य पालिकाबाट बढीमा तीन जना र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाबाट बढीमा तीन जना खेलाडी सहभागी गराउन सकिने संघका उपाध्यक्ष सिद्धराज बोकटीले बताउनुभयो।
टीम दर्ता शुल्क एक लाख ५० हजार तोकिएको छ । टिम दर्तासँगै खेलाडी तथा अफिसियललार्ई आवास र खानाको पनि व्यवस्था रहेको जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्लाको आधिकारिक टि—२० टिमका लागि छनोट गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लोगराज जोशीले जानकारी दिनुभयो ।
बैतडी जिल्ला क्रिकेट संघले एकदिवसीय फरम्याटमा बिडिसिए कप क्रिकेट गर्दै आएकोमा टि—२० फरम्याटका लागि बीएसएलको सुरुवात गर्न लागेको हो ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

