काठमाडौं:यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसुन पूर्णरूपमा हटेको छ ।
बाँकी भूभागमा पनि मनसुनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशैभरबाट मनसुन बाहिरिने अनुमान छ ।
नेपालमा मनसुन पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ । अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ वहन थालेको छ जुन मनसुन अन्त्य हुने मुख्य सङ्केत हो ।
नेपालमा सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसुन फर्किन थालेको छ । गएको वर्ष भने अक्टोबर १० मा मात्र मनसुन हटेको थियो ।
