बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका–८ लामुनीमा गएराति पहिरो खसेको छ । पहिराले एक घर पुरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।
घरमाथिबाट खसेको पहिरोले लामुनीको गैरगाउँका स्थानीय गणेशदत्त जोशीको घर पुरिएको हो ।
पहिरो खस्न थालेको आवाज आएपछि घरभित्र रहेका मानिसहरुले भागेर ज्यान जोगाएका छन् । पहिरोले जोशीको घर पूर्ण रुपमा नष्ट भएको छ । घरभित्र रहेका सबै अन्नपात, लत्ताकपडा पहिरोले बगाएको छ ।
घर पुरिएपछि जोशी परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसीरहेका छन् ।
पहिरोका कारण गोठमा पुरिएका १० ओटा बाख्राको जिवितै उद्धार गरिएको छ । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा पुरिएका बाख्राका उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण पुरै गाउँ उच्च जोखिममा रहेको बताइएको छ । लामुनीमा बर्षौंदेखि पहिरो खस्दै आएको र लगातारको बर्षाले उक्त पहिरो गाउँतिर फर्किएको छ।
पहिरोको कारण स्थानीय रघुनाथ जोशी, बल्देव जोशी, दत्तराम जोशी, परमानन्द जोशी, चन्द्रदेव जोशी, हिरा जोशी, पदमराज जोशी, काशी भण्डारी, दत्तराज जोशी, अम्बादत्त जोशी लगायत १० घर परिवार उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन भएको छ ।
