नेपाल भलिबल लिग भदौ १९ देखि, उद्घाटनमा मधेश र सगरमाथा भिड्ने

काठमाडौं: नेपाल भलिबल लिग एनभीएलको पहिलो संस्करण यही भदौ १९ गतेदेखि सुरु हुने भएको छ ।

केडिया ग्रुपको आयोजनामा हुने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा मधेश वारियर्स र सगरमाथा स्म्यास भिड्ने जनाएको छ ।

उद्घाटन दिन नै अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच अर्को खेल हुनेछ।

प्रतियोगितामा मधेश वारियर्स, सगरमाथा स्म्यास, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स र काठमाडौं रेड्स गरी ६ पुरुष फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

भदौ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने ६ फ्रेन्चाइज टिमको खेलाडी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । विदेशी खेलाडी अनुबन्धको क्रम चलिरहेको छ ।

आयोजकले सहभागी टिमसँगै टिम मालिक, टिम लोगो, नारा, मार्की खेलाडी तथा मुख्य र सहायक प्रशिक्षकसमेत सार्वजनिक गरिसकेको छ । प्रतियोगितालाई थप व्यवस्थित बनाउन आयोजकले टिकटिङ र प्रसारण साझेदारसमेत तय गरिसकेको छ ।

दर्शकको सहजतालाई ध्यानमा राख्दै आईएमई खल्ती लिमिटेडलाई टिकटिङ पार्टनर र कान्तिपुर टेलिभिजनलाई ब्रोडकास्टिङ पार्टनरका रूपमा अनुबन्ध गरिसकिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!