काठमाडौं: नेपाल भलिबल लिग (NVL) फ्रेन्चाइज टोली कर्णाली शिवराजले आयोजना गरेको ट्यालेन्ट हन्ट आज सम्पन्न भएको छ। ट्यालेन्ट हन्ट न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबमा आयोजना गरिएको थियो।
कर्णाली शिवराजले सामाजिक सञ्जालमार्फत आवेदन आह्वान गरेपछि २० जना खेलाडीले आवेदन फाराम भरेका थिए। जसमध्ये विभिन्न कारणले केही खेलाडी सहभागी हुन नसकेपछि ट्यालेन्ट हन्टमा ६ जना खेलाडीको सहभागिता रहेको थियो।
यसअघि कर्णाली प्रदेशमै आयोजना गर्ने तयारी गरिएको ट्यालेन्ट हन्ट आवेदन दिएका अधिकांश खेलाडी हाल काठमाडौंमै बसोबास गर्ने भएकाले काठमाडौंमै आयोजना गरिएको कर्णाली शिवराजका प्रमुख कार्यकारी अधिकृत अशोककुमार भट्टले जानकारी दिनुभयो।
ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए। खेलाडीहरूको प्रदर्शनको मूल्यांकन कर्णाली शिवराजका मुख्य प्रशिक्षक चन्द्र कुँवर र सहायक प्रशिक्षक दीपेन्द्रप्रसाद भट्टले गर्नुभएको थियो।
ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रदर्शन गर्दै डम्बर बीसी कर्णाली शिवराजको टोलीमा छनोट हुनुभएको छ।
छनोट भएका डम्बरले अब कर्णाली शिवराजको टोलीसँगै प्रशिक्षण गर्ने तथा टोलीबाट नेपाल भलिबल लिगमा खेल्ने अवसरसमेत प्राप्त गर्नेछन्।
कर्णाली शिवराजले ट्यालेन्ट हन्टमार्फत नयाँ तथा प्रतिभावान खेलाडी पहिचान गर्दै उनीहरूलाई व्यावसायिक भलिबलमा अघि बढ्ने अवसर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ।
नेपाल भलिबल लिग भदाै १९ देखि हुँदैछ ।
