बैतडी: भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूको उद्धार तथा राहतका लागि बैतडीका निर्माण व्यवसायी सुरेश चन्द्रले ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
बैतडी निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा ग्वालेक निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सुरेश चन्द्रले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ प्रदान गरेको निर्माण व्यवसायी सुरेश चन्द्रले जानकारी दिनुभयो ।
विपद्को कठिन परिस्थितिमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति ऐक्यबद्धता जनाउँदै चन्द्रले उक्त सहयोग गर्नुभएको हो । उहाँको यो सहयोगले बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने तथा उद्धार र पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रका नागरिक प्रभावित भएपछि सरकारी निकाय, निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघसंस्थाबाट उद्धार र राहतका लागि सहयोग जुटाउने क्रम चलिरहेको छ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का बेला गरिएको सहयोगले निजी क्षेत्रले पनि मानवीय संकटमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सन्देश दिएको छ।
सहयोगले कम्पनीलाई विपद्को समयमा देखाएको उदारता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको प्रशंसा भएको छ ।
ग्वाल्लेक निर्माण सेवाले पूर्वाधार निर्माणको साथसाथै पछिल्लो समय सामाजिक कार्य पनि गर्दै आएको छ ।
