जंगली जनावरको आतंक,बालीनाली सखाप

बैतडी:बैतडीमा जंगली जनावरले आतंक मच्चाएका छन् । दिउँसो बाँदर र रातिको समयमा जंगली बँदेल, भालु, दुम्सी लगायतका जंगली जनावरले आतंक मच्चाएका हुन् ।

जंगली जनावरबाट मकैबालीलगायतका अन्नबाली र तरकारी जोगाउन मुस्किल भएको दोगडाकेदारका किसान गणेश विष्टले बताउनुभयो । मकै उत्पादनका लागि बैतडी पकेट क्षेत्र मानिएपनि जंगली जनावरबाट मकैबाली जोगाउन किसानहरुलाई धौ –धौ भएको छ ।

जंगली बँदेलबाट मकैबाली जोगाउन निकै मुस्किल भएको सुर्नयाका किसान केशव भट्टले बताउनुभयो । जंगली बँदेलको बथानले खेतमा लगाएको मकैबाली नष्ट गर्न थालेको उनले बताए । पहरा दिँदा समेत मकैबाली जोगाउन सकिएको छैन् । खेत नै रित्तो बनाइसकेको छ ।रातभर टहरामा बसेर पहरा दिँदा समेत मकै जोगाउन नसकिएको उहाँको दुखेसो रहेको छ ।

दिनमा बाँदर र रातिको समयमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको पुर्चौडीका रविन्द्र बमले बताउनुभयो। खेतमै टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको उहाँले बताउनुभयो ।

पाटनमा पनि जंगली जनावरले आतंक मच्चाएको छ । रातिको समयमा मात्रै आउने जंगली बँदेल अब दिउँसै बारीमा आउन लागेका पाटन नगरपालिका ४ की भागरथी भट्टले बताउनुभयो । बारीमा जंगली बँदेलले राति दिउँसै आएर मकैबाली नष्ट गरेको उहाँले बताउनुभयो ।
जंगली बँदेलले रातिको समयमा मात्रै नभएर पछिल्लो समयमा दिउँसोको समयमा समेत मकै खाइरहेका छन् । बँदेलबाट मकैबाली जोगाउन मुस्किल भएको हो ।

जिल्लाका अन्य ठाउँका किसान पनि जंगली जनावरबाट हैरान भएका छन् । बालीनाली मात्रै नभएर मानिसलाई समेत आक्रमण गर्ने डर रहेको छ ।

बैतडीमा झण्डै १२ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । विभिन्न कारणले मकैबालीमा क्षति हुने भएकाले हरेक बर्ष उत्पादनमा ह्रास आउँदै गएको छ ।

कृषि बीमा गरेमा किसानहरुले क्षतिपूर्ती पाउने प्रावधान भएपनि कृषि बीमा गर्ने किसानहरुको संख्या भने निकै कम रहेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
किसानहरुको बाली बीमा निशुल्क गर्ने गरिएको भएपनि यो तर्फ किसानहरुको आकर्षण बढ्न सकेको छैन् ।

बाँदर, जंगली बँदेल लगायतका वन्यजन्तुहरुले बालीनालीमा क्षति पुर्याएमा डिभिजन वन कार्यालयमार्फत केही राहत भने उपलब्ध गराइँदै आएको छ । बालीनालीमा क्षति पुर्याएको ३५ दिनभित्र निवेदन दिएमा क्षतिको मूल्यांकन गरेर सम्बन्धित निकायको सिफारिशका आधारमा केही क्षतिपूर्ती पाउने व्यवस्था रहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!