अविरल वर्षापछि पहिरो: नौ जनाको मृत्यु,दुई घाइते

पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं: अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न ठाउँमा गरेर नौजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

पहिरोमा परेर गुल्मीमा पाँच,बागलुङमा दुई र स्याङ्जामा दुई जनाको ज्यान गएको हो ।

पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा पहिरोमा परेर भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनी सपना विक र बिपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिनुभयो ।

यस्तै बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएकी छन्।

त्यस्तै आज बिहान पहिरोले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे स्थित घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको व्यापक क्षति पुर्‍याइरहेको छ ।

बाढी तथा पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!