बैतडी: विरेन्द्र मावि र कालाशैनी मावि बैतडीमा जारी यू–१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा दशरथचन्द माविलाई ६६ रनले पराजित गरेर विरेन्द्र फाइनलमा पुग्यो ।
जितका लागि १२९ रनको लक्ष्य पछ्याएको दशरथन्द ११ दशमलब १ ओभरमा ६२ रनमा अलआउट भयो । जसमा अलिस चन्द र भुपेश मौनीले १०/१० रन हिर्काए । अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । विरेन्द्रका टेकेन्द्र चन्द र दिनेश चन्दले ३/३ विकेट झारे।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको विरेन्द्र १६ दशमलब २ ओभरमा १२८ रनमा समेटियो । उसका सुजल चन्द र विवेक चन्दले २७/२७ रनको योगदान गरे । दशरथचन्दका एलिस चन्दले ४ विकेट लिदै प्लेयर अफ दी म्याच चुनिए ।
आजै सम्पन्न अर्को सेमिफाइनलमा पाटन भ्यालीलाई १९ रनले पाखा लगाउदै कालाशैनी पनि फाइनलमा पुगेको छ । पहिला ब्याटिङ गरेको कालाशैनीले निधारित २० ओभरमा ८ विकेटको ११८ रन बनायो । जसमा मनोज चन्दले सर्वाधिक ३७ रन बनाए ।
जवाफीमा ब्याटिङमा उत्रिएको पाटन १२ दशमलब ४ ओभरमा ९९ रनमा सीमित रह्यो । उसका नवीन कुमालले सर्वाधिक ३६ रन हिर्काएपनि हार टार्न सकेनन् । पाटनको पारी धरासायी पार्ने क्रममा कालाशैनीका विक्रम लावडले ४ विकेट चट्काए। विक्रम प्लेयर अफ दी म्याच समेत घोषित भए ।
विरेन्द्र र कालाशैनीबीच उपाधि भिडन्त खेल भोलि हुनेछ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थियो।
