बैतडी:बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाकाे मृत्यु भएकाे छ।
बैतडीको पुर्चौडी नगरपालिका -७ भवनेबाट बझाङतर्फ बिहे लगेर फर्किरहेकाे पवनदुत यातायातकाे सुप प्र ०२ ००१ ख १११९ नम्बरको जन्ती बाेकेकाे बस जिल्लाकाे पुर्चौडी -७ बडगाउँ मोडमा आज बेलुका ८ बजेतिर दुर्घटनामा परेकाे हाे।
मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका र सबैकाे सनाखत भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयाे।
मृत्यु हुनेमा बझाङकाे बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशबराज जाेशी,साेही ठाउँका १३ वर्षीय अशाेकराज जाेशी,३५ वर्षीय वसन्त जाेशी,४१ वर्षीय विसनदत्त जाेशी,बझाङ केदारस्यू गाउँपालिकाका ६० वर्षीय माेहनदेव भट्ट,जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बशन्तराज रतला,बैतडी पुर्चाैडी-७ कि ४० वर्षीया पुस्पा अवस्थी रहेकी छन्।
यस्तै दुर्घटनामा परेर घाइते भएका ४५ जनाकाे उद्धार गरिएको छ। घाइतेमध्ये २७ पुरूष र १३ महिलालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको र बाँकी स्थानीय स्वास्थ्यचाैकीमा उपचार भइरहेको छ।
घाइतेहरूकाे नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।
दुर्घटनाग्रस्त बस सडकबाट करिब २०० मिटर तल खसेकाे छ।
