सुदूरपहाडमा हिमपात,किसान खुसी

बैतडी:सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।

बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौं, लगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
वर्षासंगै हिमपात भइरहेकोले राजमार्ग अवरुद्ध हुनसक्ने सम्भावना बढेको छ । तर अहिलेसम्म राजमार्ग भने सुचारु रहेका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ ।

डडेल्धुरा सदरमुकामका साथै हगुल्टे,साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबाली लगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरु बाली सप्रिने भन्दै खुसी भएका छन् ।

हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!