बैतडी: वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा समूह बी काे पाचौं खेलमा कैलाली विजयी भएकाे छ।
कैलालीले लगातार दाेस्राे जित दर्ता गर्ने क्रममा बझाङलाई १०४ रनले हरायाे। यसअघि पहिलाे खेलमा
कैलालीले अछामलाई पराजित गरेकाे थियाे।
कैलालीले दिएकाे २१४ रनकाे लक्ष्य पछ्याएको बझाङ २५.३ ओभरमा १०९ रनमा समेटियाे ।
उसका हिमाल दाैल्यालले सर्वाधिक १९ रन बनाए।
कैलालीका नरेन साउँदले ४ विकेट लिए।
यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेकाे कैलाली ३५ ओभरमा २१३ रनमा समेटियो । जसमा नरेन साउँद र कृष साउदले अर्धशतक बनाए। नरेनले ७१ र कृषले ५१ रनकाे याेगदान गरे।
अलराउन्डर प्रदर्शन गर्दै टाेलीलाई जिताउने कैलालीका नरेन साउद म्यान अफ द म्याच चुनिए ।
याे दाेस्राे जितसंगै कैलालीकाे ४ अंक जाेड्दै फाइनल नजिक पुगेकाे छ। भाेलि हुने कञ्चनपुरसंगकाे खेल जिते कैलाली फाइनल पुग्नेछ। अन्यथा कञ्चनपुर फाइनल खेल्ने स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयो ।
समूह बी बाट शिर्ष स्थानमा पुग्ने टाेली फाइनलमा बैतडीसंग भिड्नेछ।
समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेकाे छ ।
जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।
सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।
दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिनेछ।
