पहाडमा पनि डेंगु जोखिमः बैतडीमा सात जनामा संक्रमण पुष्टि

बैतडी: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा डेंगु रोगको जोखिम बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालका अनुसार चालु आर्थिक वर्षको हालसम्म सातजनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिकाका तीन, पुचौडी नगरपालिकाका दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकाका एक÷एक जना रहेका छन् ।

बर्षातको समयमा लामखुट्टे बढी उत्पादन हुने भएकोले यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन समेत गरेको छ ।

जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी बिपिन लेखकले बताउनुभयो । अभियानमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, जनप्रतिनिधि,नागरिक समाज तथा स्थानीयको सहयोग रहेको छ ।
लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने लक्ष्य अनुरुप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ अभियानमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्नुका साथै डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धि सचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौं । ”

पानीका ड्रम,पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फुलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले सरसफाइ गरिएको छ ।

यसैबीच यहाँका स्थानीय तहहरुले पनि डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् ।

दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान नै सञ्चालन गरेर लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने गरेको छ ।

तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय,स्वास्थ्य चौकीलगायतका सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिनुभयो ।

गाउँपालिकाको प्रतिकार्य समितिको निर्णय अनुसार हरेक शुक्रबार सरसफाइ अभियान सञ्ंचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशीले जानकारी दिनुभयो ।

एडीज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिने भएकाले यो रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो ।
डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!