आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

काठमाडौं: भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शनिबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। 

पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो।

लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ। 

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। आफूले कर्मअनुसार नै फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ।​

कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको श्रीमद्भागवतलगायत पुराणमा उल्लेख छ। 

जन्माष्टमीका दिन भगवान् कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्म समयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ।

पौराणिक ग्रन्थहरूमा यो दिन गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ। विशेषगरी द्वादशाक्षरी (ॐ नमो भगवते वासुदेवाय) मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ।

नेपाल र भारतमा रहेका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्‍छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!