बैतडी:बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाकाे तयारी भएकाे छ ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टका अनुसार भाेलि शुक्रबार एक औपचारिक कार्यक्रमका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित घाेषणा गरिने भएको हाे।
यहाँका १० वटै स्थानीय तह पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकाले जिल्लालाई नै घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिनुभयो ।
पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा लागि १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको हुनुपर्दछ ।
स्वास्थ्य चौकीहरुबाट खोप लगाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले प्रमाणीकरण सहित पालिकालाई सिफारीस गर्ने गर्दछ । नगर प्रमुख तथा गाउँपालिका अध्यक्षको नेत्तृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले पनि प्रमाणिकरण गरेपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ ।
पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणिकरण सहितको सिफारिस गर्दछ । त्यसपछि पालिकाले गरेको पूर्ण खोप सुनिश्चिततालाई प्रमाणिकरण गर्न स्वास्थ्य कार्यालयले घरधुरी सर्वेक्षण गर्दछ । त्यसपछि मात्रै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ ।
घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुटेका पाइएमा उनीहरुलाई पनि खोप तालिकाअनुसार खोप दिइएपछि घोषणा सबै पालिकालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका हुन् ।
पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण प्रतिवेदन सबै पालिकाहरुले जिल्ला खोप समन्वय समितिलाई पठाइसकेको र जिल्लाले प्रदेशलाई पठाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको प्रमाणीकरण भइसककेपछि जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम राखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।
वि.सं. २०७२ साल असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।
