बैतडी: सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ ।
आज सम्पन्न फाइनलमा कञ्चनपुरलाई ५ रनले पराजित गर्दै डडेल्धुराले उपाधि जितेको हो ।
उपाधिसंगै डडेल्धुराले २ लाख पुरस्कार पायाे भने कञ्चनपुरले १ लाखमा चित्त बुझायो ।
फाप्ला क्रिकेट मैदानमा ८९ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको कञ्चनपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन मात्रै बनाउनसक्यो । उसका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् ।
डडेल्धुराले २९ रन अतिरिक्त दिएको थियो । डडेल्धुराका मनिषा खत्री र हिरा साउँदले २–२ तथा आशिका महरा, सञ्जु साउँद र निशा खठायतले १–१ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको डडेल्धुरा १६.५ ओभरमा ८८ रनमा समेटिएको थियो । डडेल्धुराका लागि हिरा साउँदले २४ रनको अविजित पारि खेलिन् ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गंगा खड्काले १ विकेट लिइन् ।
विजेता उपविजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्कालगायतले पुरस्कार वितरण गर्नुभयाे।
प्रदेश खेलकुद परिषद्काे आयाेजनामा असार १२ गतेदेखि सुरू भएकाे प्रतियोगितामा ८ जिल्लाकाे सहभागीता रहेकाे थियाे।
