बैतडी: गृहमन्त्री रमेश लेखकले देशकाे आवश्यकताअनुसार नै दुईठुला दल मिलेका बताउनुभएको छ।
जन्मघर बैतडी पुग्नुभएका लेखकले पाटनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले देशको आवश्यकताअनुसार नै नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गठबन्धनको सरकार बनेकाे बताउनुभयो ।
उहाँले भन्नुभयो,” दुई ठुला दल मिलेर गठबन्धन बनेकाे छ। जसका लागि सातबुँदे सहमति गरेका छाैं। गठबन्धन बनाइसकेपछि इमानदारीपूर्वक बस्नुपर्छ।”
गठबन्धन सरकारप्रति जनताको थुप्रै आशा र चाहना भएपनि सबैकुरा पूरा हुन नसकेका बताउदै उहाँले ती आशा र चाहना पूरा गर्न सरकार लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयाे,”सरकारले आमनागरिकका सबै चाहना पूरा गर्न सकेकाे छैन। केही निराशा र चिन्ता पनि छ। हामीले असल र राम्रा काम गर्नुपर्छ।”
कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय याे सरकारले बनाउने निर्णय सुदूरपश्चिमका लागि राम्रो पक्ष रहेकाे बताउनुभयाे।
यसका साथै बैतडीको लाइफलाइनका रूपमा रहेकाे महाकाली करिडोरमा बजेट कम रहेकाे र यसका लागि थप बजेट आवश्यक रहेकाे धारणा व्यक्त गर्नुभयाे।
भारतसँग सीमा जाेडिएकाे बैतडीको झुलाघाटमा पुल बन्न आवश्यक रहेकाे र यसका लागि सरकारले लाग्नुपर्नेमा जाेड दिनुभयाे।
याे संविधान लामाे संघर्षबाट आएकाेले कसैले याे संविधान र व्यवस्थाविरूद्ध हिड्नु दिवा सपना हुने उहाँले बताउनुभयो ।
यसका साथै उहाँले आफूमाथि लागेकाे आराेप राजनीतिक षड्यन्त्र रहेकाे स्पष्ट पार्दै यस्ताे गलत प्रचारकाे पछि नलाग्न आग्रह गर्नुभयाे।
यस्तै कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभयाे।
सभापति चन्दले बैतडी क्रिकेटकाे उर्वरभूमि रहेपनि उपयुक्त खेलमैदान नहुँदा भएकाे समस्या, झुलाघाट नाकाका पुल बन्नुपर्ने,पाटन विमानस्थल सञ्चालन सञ्चालन हुनुपर्ने, महाकाली करिडाेरमा बजेट कम परेकाे लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयाे।
यसका साथै गृहमन्त्री लेखकलाई पाटन नगरपालिकाकाे समग्र विकासको लागि नगरप्रमुख गाैरीसिंह रावलले ज्ञापनपत्र समेत बुझाउनुभएकाे छ।
दुई ठुला दल मिलेर बनेकाे गठबन्धन सरकारप्रति नागरिककाे असन्तुष्टि बढेकाेले यसकाे समाधान गर्न अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आग्रह गरेका छन्।
गृहमन्त्री भएपश्चात लेखक पहिलाेपटक जन्मघर घर बैतडी पुग्नुभएकाे हाे ।
यस्तै बिहीबार बिहान ८ बजे कांग्रेस जिल्ला कार्यालय गाेठलापानीमा राखिएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा समेत उहाँकाे उपस्थिति रहनेछ।
साथै बिहीबार नै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पाठपूजा गर्ने कार्यक्रम रहेकाे जनाएको छ।
गृहमन्त्री लेखक दुई दिन बैतडीमा बस्नुहुने कार्यक्रम रहेकाे छ।

